सङ्खुवासभा : सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो।
चन्द समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेको हो । प्रहरीले घटनास्थल चैनपुर नगरपालिका–४ मैदानेबाट चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको सकेट बम चार थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याटसहितको फोटो, पाँच÷छ मोबाइलसहित ११ वटा सिम सार्वजनिक गरेको हो । त्यस्तै टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए।
मैदाने क्षेत्रमा ३६ प्रहरी र १० सशस्त्र प्रहरी परिचालन गरिएको छ । दोहोरो भिडन्तपछि जङ्गलतिर भागेका चन्द समूहका कार्यकताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । गत मङ्सिर १ गते पनि मैदानेमा सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो ।






