लेटाङ-मिक्लाजुङ गाउपालिका वडा नम्बर १ रमिते खोलाका शिक्षक राजेन्द्र श्रेष्ठको विपल्व समूहले गोली हानी हत्या गरेको छ। ५४ वर्षीय श्रेष्ठलाई मंगलबार बिहान घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको इलाका प्रहरी कार्यलय मधुमल्लाले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ।
मिक्लाजुङ गाउँपालिका–१ का वडा अध्यक्ष नरबहादुर राईका अनुसार मंगलबार बिहान घरबाटै शिक्षकलाई अज्ञात समूहले लिएर गएका थिए।
वडा कार्यलय बाट करिब डेढ घण्टाको दुरिमा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्यापन गराउने शिक्षक श्रेष्ठ लाइ उहाँको घरदेखि केही पर जंगलमा लागि हत्या गरिएको हो।
वडा अध्यक्ष राइका अनुसार शिक्षक श्रेष्ठको घर नजिकै रहेको स्थानबाट दशैंमा प्रहरीले विप्लव समूहका दुईजना नेतालाई हतियारसहित पक्राउ गरेको थियो।
प्रहरी स्रोतका अनुसार मिक्लाजुङ नेत्र विप्लव चन्द समूहको सैन्य अभ्यास गर्ने क्षेत्र हो । पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास हुँदै गएको जानकारीका आधारमा गत कात्तिक १२ गते मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो। तर विकट क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा विप्लव समूहका कार्यकर्ता भागेका थिए ।
स्थानीयको घरमा लुकेका दुई जना पक्राउ परेका थिए । इलामको चुलाचुली गाउँपालिका– ६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका– २ का ३२ वर्षीय प्रतिक भनिने काशिनाथ घिमिरेलाई हतियारसहित पक्राउ परेको थियो ।
प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् । यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको प्रहरीले जनाएको छ।
गत मंसिर ८ गते पनि मिक्लाजुङबाट बन्दोबस्तीका समान खरिद गर्न उर्लाबारी आएका विप्लव समूहका सेक्सन कमाण्डर ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङ्गे शेर्मा पक्राउ परेका थिए। उनको साथबाट पेस्तोल र विप्लव समूहका कार्यकर्ताका लागि खरिद गरेको ज्याकेट बरामद गरेको थियो।






