Home / Nepal / ७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्‍चालनमा आउँदै

७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्‍चालनमा आउँदै

काठमाडौं । कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्‍चालनमा आउने भएको छ । 

सरकारले आन्तरिक उडान सुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेबाट व्यावसायिक रुपमा सञ्‍चालनमा आउने भएको हो । अहिले परीक्षणकालका रुपमा सञ्‍चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था (नाका)का अध्यक्ष कृष्ण भण्डारीले बताए । पुरानै अवस्थामा फर्किन समय लाग्ने भए पनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए ।

कोरोनाको जोखिमका कारण बन्द रहेका कम्पनीहरुलाई पुन: बुकिङ सुरु गर्न नाकाले प्याराग्लाइडिङ कम्पनीहरुले निर्देशन दिएको छ । लकडाउनको अवधिमा पोखरामा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्‍चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरको नोक्सानी व्यहोर्नुपरेको नाका महासचिव बलराम आर्चायले बताए ।

अहिले परीक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर सञ्‍चालन भइरहेका छन् । प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेसनअफ इरोनेटिक इन्टरनेसनल (एफएआई) का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्टमध्येको एक गन्तव्य हो । यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौती छन् ।

पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्छन् । सुरुवाती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजारजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । -फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *