दुबई- जारी आईपीएलको सातौं खेलका लागि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज चेन्न्ई सुपर किंग्स र दिल्ली क्यापिटल्स आमनेसामने हुदैछन।
प्रतियोगितामा दुई खेल खेलिसकेको चेन्नई आज हुने आफ्नो तेस्रो खेलमा दोस्रो जितको खोजी हुनेछ। पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै आईपीएलमा सुखद सुरुआत गरेको चेन्नई दोस्रो खेलमा भने कोलकता नाइट राइडर्ससँग १६ रनले पराजित भएको थियो।
यता, दिल्लीले भने सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबलाई हराउँदै सनसनी मच्चाएको थियो। सुपर ओभरमा राबडाको बलिङअघि पञ्जाब चल्न नसक्दा दिल्लीले रोमाञ्चक तरिकाले खेल आफ्नो पक्षमा बनाउदै अंक बटुलेको थियो।
निकै अनुभवी विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले सम्हालेको टोलीसामु दोस्रो संस्करण दिल्लीको कप्तानी सम्हालिरहेका युवा ब्याट्सम्यान श्रेयस अय्यरले कस्तो प्रदर्शन गर्ने हुन् त्यसको जवाफका लागि खेलको नतिजा कुर्नैपर्ने हुन्छ ।
यदि आजको खेलमा दिल्लीले जित दर्ता गर्न सफल भयो भने चेन्नईविरुद्ध लगातार हारको शृंखलामा पूर्णविराम लगाउनेछ । अघिल्लो संस्करणको आईपीएलमा मात्रै दिल्ली चेन्नईसँग लगातार तीन पटक पराजित भएको थियो।
यी दुई टोलीबीचको हालसम्म भएका खेलको नतिजा हेर्ने हो भने दिल्लीभन्दा चेन्नई निकै बलियो छ। २१ पटक आमनेसामने भएका यी दुईमध्ये चेन्नईले १५ पटक खेल आफ्नो पक्षमा पारेको छ भने दिल्ली ६ पटक मात्र सफल भएको छ।






