मोरङ : अन्धविश्वासमा परेर विराटनगरका एक परिवारकी छोरी बेपत्ता हुनुको साथै ५० हजार रुपैयाँ पनि गुमाएका छन्।
विराटनगर महानगरपालिका–१९ का दिनेश मण्डलले यही माघ १० गते तिम्रो घरमा सुन गाडिएको छ, म धामी हुँ भन्दै बिराटनगर वडा नं ४ का ध्रुवनरायाण माझीको आमासँग रु ५० हजारसहित उनकी २४ वर्षीय छोरी गजेश्वरी माझीलाई पनि बेपत्ता बनाएको पीडितको छोरा ध्रुवनारायण माझीले आज पत्रकार सम्मेलन गरेर आरोप लगाए।
आफू घरमा नभएको बेलामा आमालाई ललाइफकाई गरेको यस्तो कर्तुतबाट घरको पैसा र बहिनीसमेत बेपत्ता भएपछि प्रहरीमा उजूरी दिएको र सो उजूरीको अहिलेसम्म सुनवाइ नभएको उनको आरोप छ। बहिनी पनि हराएको पत्तो आफूले दुई दिनपछि मात्र थाहा पाएको बताउँदै उनले थाहा पाउने वित्तिकै प्रहरीमा उजूरी दिएको जानकारी दिए।
धामी मण्डलले कलाजादु जस्तै एउटा औँठी घरबाट निकालेको र आमालाई अनेक कुरा गरेर मोहित पारेर आमा बाट रु ५० हजार धामीले लगेको उनले बताए। धामीले भने अनुसारको सुन निकाल्न भनेपछि धामी भागेको बताइएको छ। धामीले बाहिर पूजा गर्नुपर्छ र कुमारी कन्या पनि चाहिन्छ भनेर गजेश्वरीलाई लिएर भागेको धामी अहिलेसम्म पत्तो नलागेको र प्रहरीले पनि जाहेरी कर्ताको उजूरीमा ध्यान नदिएको माझीको आरोप छ।
समाजमा धामीझाँक्रीको नाममा ठगी गर्ने यस्ता अपराधीलाई हदैसम्मको कारवाही हुनुपर्ने उनको भनाइ छ।






