काठमाडौं : काठमाडौंको माइतीघर मण्डलमा शनिबार बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै, आँखामा कालोपट्टी बाँधेर युवतीहरु बिरोध प्रदर्शनमा उत्रिएका छन्।
बलात्कारी, हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै उनीहरुले केही समय धर्नासमेत दिएका थिए। सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानरसहित अग्रभागमा तीनजना महिलाले प्रतीकात्मक रूपमा विरोध प्रदर्शन गरेका थिए।
उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए। सोहीबीचमा आँखामा कालोपट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारबाही र पीडितलाई न्याय दिन माग गरिरहेका थिए। उनीहरुले ‘तिम्रा कानुन चाहिँदैन, छोरी मार्न पाइँदैन’, ‘हत्यारालाई सार्वजनिक गर’जस्ता नाराबाजी गरेका थिए।
देशका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाही नभएपछि त्यसको विरोधमा दोषीलाई कार्बाहीको माग गदै काठमाडौंमा केही दिनयता प्रदर्शन हुँदै आएको छ।





