खोटाङ : खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको आगो ताप्नेक्रममा शरीर जलेर मृत्यु भएको छ।
आगो ताप्ने क्रममा शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते हुनुभएकी १०१ वर्षीया हिमादेवी अधिकारीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा शुक्रबार मृत्यु भएको हो।
वडाध्यक्ष शिवप्रसाद फुयाँलका अनुसार गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेकी मृतक हिमादेवी सो गाउँपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक हुन्।
लुगा डढेको गन्धका आधारमा आफन्तले थाहा पाएपछि हिमादेवीलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए। वृद्धावस्थामा पुगेका कारण हिमादेवी लामो समयदेखि बोल्न सक्दिनथिन्।






