काठमाडौं : सुनका गरगहना धनमाल लुटपाटमा संलग्न रहेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोकको साँगाचोकगढी घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ र दरबारमार्गस्थित आँधीखोला दोहोरी साँझमा काम गर्ने बझाङको जयपृथ्वी नगरपालिका–१ घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने २१ वर्षीय सुनीलबहादुर सिंह रहेका छन्।
काठमाडौंको स्युचाटार बस्ने ४२ वर्षीय पुरुषको माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुबाट सवा तीन तोलाको एकथान सुनको सिक्री, करिब दुई तोलाको एकथान सुनको औँठी, हात्तीको पुच्छर भएको करिब साढे एक तोलाको एकथान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा३च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ।






