Home / Nepal / ‘सरकारले विदेशमा रहेका नेपाली विद्यार्थीलाई उद्धार नगर्ने ‘

‘सरकारले विदेशमा रहेका नेपाली विद्यार्थीलाई उद्धार नगर्ने ‘

काठमाडौं, १७ चैत । सरकारले विदेशमा रहेका विद्यार्थीहरुलाई उद्दार गरेर घर ल्याउने योजना नभएको प्रष्ट पारेको छ ।

विद्यार्थीहरु बेखर्ची हुन थालेपछि शैक्षिक परामर्श केन्द्र सञ्चालकहरूले अष्ट्रेलियामा रहेका विद्यार्थीलाई उचित सुविधा दिन र तत्काल घर फर्कनु परेमा उचित प्रवन्ध गर्न माग गर्दै आएका छन् ।

तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशमा रहेका विद्यार्थी वा श्रमिकलाई घर फर्काउने योजना नरहेको बताएका छन् ।

अहिले यात्रा गर्नु सुरक्षाका दृष्टिले समेत उचित नभएको भन्दै मन्त्री ज्ञवालीले राष्ट्रिय समाचार समितिलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले देख्यौं, नेपालमा संक्रमितहरूमध्ये अधिकांश नागरिकहरू विदेशबाट स्वदेश यात्राका क्रममा रहेकाहरू हुनुहुन्छ । नेपाल आफैं पनि संक्रमणसँग जुधिरहेको छ । यतिबेलाको सर्वाेत्तम उपाय भनेको जो जहाँ छ, त्यहीँ रहनुपर्छ ।’

नेपाली दूतावास, गैरआवासीय नेपाली संघका साथै च्यारिटी संस्थाहरूसँग मिलेर त्यहीँ सुरक्षित रहनु उचित हुने मन्त्री ज्ञवालीको तर्क छ।

‘हामी नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षाका लागि जसरी प्रतिबद्धता गरेका छौं । त्यहाँ रहेका नेपालीहरूका लागि पनि हामीले त्यहाँका सरकारसँग सुरक्षाको माग गरेका छौं । त्यो प्रतिबद्धता उहाँहरुबाट आएको छ’ उनले भने, ‘यस्तोबेला यात्रा गर्नु उचित हुँदैन ।’

कतिपयले चीनको वुहानबाट नेपाली विद्यार्थीहरुलाई उद्दार गरेको स्मरण गर्दै छोटो समयका लागि विदेश गएका र गम्भीर संकट व्यहोरिरहेकाहरूलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सकिन्न भन्ने प्रश्न पनि गरेका छन् ।

तर, परराष्ट्रमन्त्री ज्ञवालीले भने अहिले अत्तालिएर दौडादौड वा उद्दार गर्ने स्थिति नभएको बताउँछन् ।

‘पहिलो, यसरी गरिने यात्राहरू सुरक्षित छन् कि छैनन् भन्ने हेर्नुपर्छ । किनकी हामी कुनैपनि नागरिक वा व्यक्तिलाई असुरक्षित यात्रामार्फत् थप जोखिममा पार्न चाहन्नौं’ उनले भने, ‘दोस्रो, सरकारले गरेका आग्रह र लागू गरेका मापदण्डको उचित पालना भएन । यात्राको समग्र स्थितिबारे समयमै जानकारी नलिँदा र स्वदेश फर्केर क्वारेन्टाइनमा नबस्दा संक्रमण फैलने समस्या देखिएको छ।’

नेपाल फेरि अर्काे जोखिम व्यहोर्नसक्ने अवस्थामा नरहेको भन्दै उनले जो जहाँ छ, त्यही सुरक्षित रहनु नै सर्वोत्तम उपाय भएको बताए ।

यो संकटले एकदमै शक्तिशाली र विकसित मुलुकलाई समेत जरैदेखि हल्लाएको भन्दै उनले भने, ‘यो असामान्य स्थिति हो । यस्तो बेला अधिकार भन्दापनि आम नागरिकको स्वास्थ्य रक्षाको दृष्टिकोणले हेरिनुपर्छ । मानव समाजको वृहत्तर हितलाई हेर्नुपर्छ । कुनै पनि देशले आफ्ना नागरिकलाई घर फर्कन पाउँदैन भन्दैन, हामीले पनि भनेका छैनौं । तर, कस्तो बेलामा कसरी गर्ने भन्ने चाहिँ संकटको स्थितिले तय गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *