Home / Nepal / News / मेलम्ची खानेपानीको काम अघि बढ्यो, मजदुर कम हुँदा सुस्त गति

मेलम्ची खानेपानीको काम अघि बढ्यो, मजदुर कम हुँदा सुस्त गति

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय गौरबको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम धिमा गतिमा अघिबढेको छ ।


कारोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले मुलुकभर लकडाउन गरेपछि यस आयोजनाको काम ठप्प थियो ।

सरकारकै निर्देशनमा विकास निर्माण तथा ठूला विकास आयोजनालाई काम गर्न खुकुलो बनाएपछि आयोजनाले काम गर्न थालेको छ ।

लकडाउनकै कारण मेलम्चीमा काम गर्ने मजदुरहरू आ–आफ्नो घर गएको, निर्माण सामाग्रीको आपूर्ति नभएका कारण सरकारको निर्देशनले पनि केही दिन काम हुन नसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

‘लकडाउनकै कारण मेलम्चीको सम्पूर्ण काम ठप्प थियो । सरकारको निर्देशनपछि केही सहज भएको छ’, उहाँले भन्नुभयो– ‘तर, मजदुर घर गएका कारण र निर्माण सामग्री आपूर्ति हुन नसक्दा काम केही दिन रोकिएको हो ।’

अहिले निर्माण व्यवसायीलाई निर्माण सामाग्रीको ढुवानीमा सहजीकरण गर्दै आवश्यक सामग्री जम्मा पारिसकेको आयोजनाले जनाएको छ । यसमा आयोजनाले भूमिका खेलिरहेको सीडीई पन्तले बताउनुभयो ।

‘आयोजनाकै सहजीकरणमा निर्माण सामग्रीको आपूर्ति भइसकेको छ । मजदुर पनि पहिलाको तुलनामा आधाभन्दा कम हामीसँग छन् । काम भने भइरहेको छ ।’ –उहाँले भन्नुभयो ।

आवश्यकताभन्दा कम जनशक्तिका कारण पछिल्लो अवस्थामा कामको गति कम भएको उहाँले स्वीकार्नुभयो । आयोजनाको काम गर्ने चाइनिज ठेकेदार कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ । आयोजनाका अनुसार आयोजनामा ३ सय बढीले काम गर्दै आइरहेको थियो तर लकडाउनपछि भने १ सय २० जनाभन्दा कम मजदुर छन् । ठेकेदारपक्षको भने ४५ जना चिनियाँ कामदार रहेको आयोजनाले जनाएको छ ।

आयोजनाले केही हप्ता काम रोकिए पनि तोकिएकै अवधिमा सुन्दरीजलमा पानी ल्याउन दु्रत गतिमा लागिपरेको छ ।

‘हाम्रो तार्गेट असारमै वैकल्पिक व्यवस्थाबाट भए पनि पानी ल्याइपु¥याउने हो । त्यही स्पिरिटमा काम भइरहेको छ ।’ –उहाँले भन्नुभयो ।

अहिले चिनियाँ ठेकेदारले मुहानको कामलाई तीव्रता दिइरहेको आयोजनाको दाबी छ । आयोजनाका अनुसार मुहान (हेडवक्र्स) को कामलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको छ ।

असार मसान्तसम्म वैकल्पिक व्यवस्थामार्फत पानी ल्याउन वैकल्पिकरूपमा बाँधसमेत निर्माण सम्पन्न गरिसकेको आयोजनाको दाबी छ । अहिले निर्माण गरिरहेको हेडवक्र्सभन्दा माथिबाट बाँध बाँधिएको आयोजनाले जनाएको छ ।

सुरुङ फिनिसिङको काम सम्पूर्ण काम सम्पन्न भएको र टनेल गेट निर्माण र भेन्टिलेसन साफ्टको काम भइरहेको आयोजनाले जनाएको छ । हेडवक्र्सबाहेक टनेल गेट र भेन्टिलेसन साफ्टको काम सकेमा निर्धारित समयमा नै वैकल्पिक व्यवस्था गरेर पानी ल्याउन सकिने आयोजनाका भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *