Home / Nepal / परीक्षा नलिई आन्तरिक परीक्षाबाटै ग्रेड निर्धारण गर्न प्याब्सनको माग

परीक्षा नलिई आन्तरिक परीक्षाबाटै ग्रेड निर्धारण गर्न प्याब्सनको माग

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न माग गरेको छ ।

कोरोना भाइरसको जोखिमका कारण रोकिएको परीक्षा अहिले पनि परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै प्याब्सनले परीक्षा नलिई आन्तरिक परीक्षाबाटै ग्रेड निर्धारण गर्न माग गरेको हो ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले एक विज्ञप्ति जारी गर्दै विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न माग गर्नुभएको छ ।

यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत सरकारसँग आफूहरूले आग्रह गरेको उहाँको भनाइ छ ।

२०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने प्याब्सनको सुझाव छ ।

चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा नोवल कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।

शिक्षाविद्हरुले भने एसईई परीक्षा सधैंका लागि हटाउनुपर्ने सुझाब दिँदै आएका छन् ।

परीक्षामा डी प्लस आएपछि विद्यार्थीले अर्को कक्षामा पढ्न पाउने भएकोले त्यसको लागि मरिहत्ते गरेर परीक्षा लिन नपर्ने शिक्षाविद् मनप्रसाद वाग्लेको तर्क रहेको छ ।

अर्कोतिर कक्षा १२ सम्मलाई विद्यालय शिक्षाको रुपमा परिभाषा गरिसकेपछि एसईई र कक्षा ११ को परीक्षा विद्यालयले आन्तरिक रुपमा लिए पुग्ने वाग्लेको भनाइ छ ।

उहाँले फस्टदेखि थर्ड टर्मसम्मको अंकको आधारमा ग्रेडिङ गरेर अर्को कक्षामा पढ्न पाउने व्यवस्था गनए सुझाब दिनुभएको छ ।

सरकारले भने लकडाउन खुलेको तीन सातापछि एसईई परीक्षा सञ्चालन गर्ने बताउँदै आएको छ ।

तर, लकडाउन कहिले खुल्छ भन्ने यकिन नभएको बेला परीक्षाकै औचित्यमाथि प्रश्न उठिरहेको छ ।

गत चैत ६ गतेदेखि हुने तय भएको सो परीक्षा चैत ५ गतेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो ।

त्यसपछि कक्षा ११ र १२ का परीक्षा पनि स्थगन गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *