काठमाडौं : आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। तराई भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौं उपत्यकामा आज अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । “आज काठमाडौंमा केही समय मौसम खुले पनि अपराह्नपछि पानी पर्नेछ,” मौसमविद् शाक्य भन्छिन्, “काठमाडौंमा भारी वर्षाको भने सम्भावना छैन ।”
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन मौसमविद् शाक्यको आग्रह छ ।






