छन्द :- मन्दाक्रान्ता
आफ्नो बाटो तनय जसरी रेलले रेलमार्ग
त्यस्तै इच्छा सरल मनले छन्द माग्ने सुमार्ग ।
हास्ने खेल्ने तनय तनया पूर्ण प्राणी भनेर
यस्तै यात्रा हरपल रहोस् छन्द यात्री बनेर ।।
१
मेरो यात्रा बचपन भनी काव्य ऊर्जा भराएँ
राम्रो पारौँ हरपल सुधा छन्द भन्दै कराएँ ।
जान्ने मान्ने कवि र कविता पद्य राम्रो भनेर
वित्योस् यात्रा कलम घरमा छन्द यात्री बनेर ।।
२
कोशी जस्तो जल लहरमा बग्ने इच्छा छ दैव
हाम्रो इच्छा सहर थलमा छन्द राख्ने सदैव ।
जस्तै आफ्नो महक मृगले खोज्छ कर्ता बनेर
खोजुन् सारा सहर घरमा छन्द यात्री भनेर ।।
३
धेरै हाम्रा अमर कविमा पद्य कोर्ने प्रवृत्त
सार्है राम्रो श्रुतिमधुरता काव्यमा वर्णवृत्त ।
खाेज्ने बच्चा हरपल सिला वृत्त जस्तै गनेर
हाम्रो माया अमर शुभ होस् छन्द यात्री बनेर ।।
४
डाक्यो डाँडा रस लहरकाे छैन लेख्ने सिमाना
आयो बेला जन सब मिली छन्द कोर्ने रमाना ।
पढ्ने किन्ने जमघट बढोस् काव्य मेरो भनेर
इच्छा नामी अमर कृति होस् छन्द यात्री बनेर ।।
५
लेखक :- सोमनाथ दाहाल
लेटाङ्ग न.पा. – २ मोरङ्ग






