– अशिम सापकोटा
राणाहरूले वि.सं. १९०० ताका अलैँचीको बजार व्यवस्थापन गर्न भारतको पटना र मिर्जापुरमा ’अलैँची कोठी’ खोलेका थिए।
त्यसबेला इलामबाट किसानले ल्याउने अलैँची धरानमा सङ्कलन गरी भारत पठाइन्थ्यो । तर पछि औलोका कारण भरियाहरू बाटैमा मर्न थालेकाले धरान ल्याउन नसकेको र गाउँमा बिक्री नभएको हुनाले अलैँची बगैँचा मासिन थालेका थिए।
वि.सं. १९९०को दशकमा मारवाडी व्यापारीहरूले इलाममै सङ्कलन केन्द्र खोलेपछि पुनः खेती हुन थाल्यो । २०२० सालतिर मेची विकास कोषले किसानलाई अलैँची खेती गर्न ऋण दिन थाल्यो ।
आर्थिक वर्ष २०३२’३३मा ’कृषि वर्ष’ मनाउँदा सरकारले चारलाख बेर्ना वितरण गरेको थियो। २०३३मा इलाम, फिक्कलमा अलैँची उत्पादन एवं प्रशोधनबारे अनुसन्धान एवं विकास गर्न सरकारी तवरबाट अलैँची विकास केन्द्र स्थापना भएपछि मात्र यसले व्यवसायिकताको ठुलो रुप पाँउन थालेको हो ।
अलैँची पहाडी भेगमा पाइने एक वनस्पति हो । वनस्पति जगतको जिंगीविरेसिस श्ष्लनष्दभचबअभबभ परिवार अन्तर्गत पर्ने अलैंची एक अत्यन्तै उपयोगी बहुवर्षिय पोथ्रा मसलाजन्य बनस्पती हो ।

यो प्राकृतिक रूपमा दक्षिण भारतको आर्द्र, सदाबहार जंङ्गल क्षेत्रमा प्रशस्त पाइन्छ । नेपाल बाहेक भुटान, श्रीलङ्का, मलेशिया र चिनमा पनि यसको खेती गरिन्छ भने विभिन्न प्रजातीका अलैंचीहरू इण्डोचिन उत्तरपूर्वी भारत तथा पूर्वी र पश्चिमी अफ्रिकामा पनि पाइन्छन् ।
नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्दछन् । यो मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ । यो वनस्पति कुनै पनि भिरालो परेको जमीन या अग्ला अग्ला रुख भएको ठाउँमा पनि खेति गर्न सकिन्छ ।
यस कारण यो वनस्पति खेर गएको जमीनमा सहि सदुपयोग गर्न सकिन्छ साथै जमीनलाई भू(क्षय हुनबाट पनि बचाउन सकिन्छ ।
अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने आदि कारणले किसानहरूका लागि यो वरदान सावित भएको छ।
अलैँची भूक्षय रोक्न पनि उपयोगी मानिएको छ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजीकै हाङ्देवामा करिब दुई दशकअघि गएको निकै ठूलो पहिरो अलैँचीले नै रोकेको, पहिरो गएको ठाउँ र भिरालो जग्गामा उत्तिसका बिरुवाहरू राम्रोसँग हुर्केका तथा अलैँचीको आम्दानीले स्थानीय अर्थतन्त्र एवं जनजीवनमा परिवर्तन समेत आएको छ ।
अलैँची नेपालबाट निर्यातजन्य बाली मध्ये अग्रपंक्तिमा आए तापनि सरकारी तर्फबाट यसको उत्थान र व्यवसायिकरणलाई व्यवस्थित र व्यवस्थापन गर्न एउटा छुट्टै स्वायत्त निकाय बनाइनुपर्ने किसान तथा सरोकारवालाको माग छ ।






