Politics

समाजबादी पार्टीद्वारा सरिता गिरीलाई संशोधन प्रस्ताव फिर्ता गर्न निर्देशन, फिर्ता नलिए कारबाही गर्ने चेतावनी

Spread the love

काठमाडौँ । समाजबादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराए पछि उनलाई पार्टीले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

समाजवादी पार्टीले भने उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको हो । 

सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन् ।

संघीय संसद सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ ।

प्रतिनिधिसभा विधेयक शाखाका प्रमुख नारायण ढकालका अनुसार गिरीले बुधबार दिउँसो उक्त संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । उनको संशोधन प्रस्तावले संविधान संशोधन गलत हो भन्ने माग गरेको ढकालले बताए ।

पार्टीमा सल्लाह नगरी, संसदीय दलको निर्देशन बिना संशोधन हालेको भन्दै उनको पार्टी समाजवादीले सांसद गिरीलाई उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने पनि चेतावनी दिएका छन् ।

गिरी समानुपातिक सांसद हुन् । उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् ।

संसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवं नेपालले आफ्नो कूटनीतिक शक्तिको आँकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै विवादित बयान दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *