दमौली : तनहुँको व्यास नगरपालिका ६ र व्यास नगरपालिका १२ मा शुक्रबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
साँजाबाट शेखाटारतर्फ आउँदै गरेको ग.१त ३०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा व्यास नगरपालिका ६, बाकुरेखोलास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ। सो ट्याक्टरमा सवार बालकको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा सोही ठाउँ बस्ने नौ वर्षीय सरोज थापा रहेका छन्। अनियन्त्रित ट्याक्टरको ढालाले च्यापिएर बालकको मृत्यु भएको हो । सडकबाट अन्दाजी ३०० मिटर तल पल्टिँदा बालककी आमा २७ वर्षीय सरस्वती थापा र ट्याक्टर चालक ४० वर्षीय बुद्धि श्रेष्ठ भने घाइते भएका छन्। घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १२, घाँसीकुवामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका ८ बस्ने २२ वर्षीय गोविन्द मगर रहेका छन्।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग.१४प २५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते मगरको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए। मोटरसाइकलमा सवार एक महिला र बच्चाको अवस्था भने सामान्य छ। सिमसिम पानी परेका कारण मोटरसाइकल चिप्लिएर लडेको प्रहरीको भनाइ छ ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल लडेपछि बा.४ख ८९१६ नम्बरको बसमा ठोक्किएको थियो।






