काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नै नगरी शनिबारसम्मका लागि स्थगित भयो ।
पार्टीभित्र उत्पन्न गाँठो फुकाउन बैठकमा सहभागी भएका स्थायी कमिटी सदस्यहरू विभाजनको शंका–उपशंका बोकेर फर्किएको एक नेताले जानकारी दिए ।
विशेषगरी आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले निराशाजनक अभिव्यक्ति दिएको एक सदस्यले जानकारी दिए । राष्ट्रपति भवन पुगेर फर्किएपछि प्रचण्डको प्रस्तुती फेरिएको थियो ।
“बिहान निवासमा भेट्न आएका नेताहरूलाई कमरेड प्रचण्डले दुवै अध्यक्षको कमजोरी भन्नुस् सच्चिने विन्दुको खोजी त्यहीँ फेला पर्छ भन्दै उत्साहित तुल्याउनुभएको थियो,” प्रचण्ड निकट नेताले भने, “तर प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राखेर संसद् अधिवेशन स्थगित गरेपछि आशंका बादल मडारिनु स्वाभाविकै भइहाल्यो ।”
प्रधानमन्त्री ओलीसँग छलफल गरेलगत्तै प्रचण्ड राष्ट्रपति भवन पुगेका थिए । राष्ट्रपतिलाई भेटेर आएपछि उनले सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।
“मैले राष्ट्रपतिलाई गएर प्रधानमन्त्रीजीले राजनीतिक दल ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउनु भयो भने दुईचारदिन रोकिदिनुहोला । त्यसबीचमा पार्टीभित्रको विवाद मिलाउँछौं ।
अध्यक्षको हैसियतले यति कुरा भन्न आएँ भनेर मैले मेरो कुरा राखेँ,” प्रचण्डले स्थायी कमिटीको बैठकमा भनेको कुरा एक सदस्यले उद्धृत गरे, “तर, राष्ट्रपतिको भूमिकाप्रति पनि मलाई शङ्का लागेको छ । पार्टीभित्र सहमति कायम भएन भने यो बैठक विभाजनको बैठक पनि हुनसक्छ ।”
उनले तर आफूले अन्तिमसम्म रोक्ने प्रयत्न गर्ने बताएको स्थायी कमिटी सदस्य बताउँछन् ।






