काठमाडौं : काठमाडौं उपत्यकामा आज विहानको तापक्रम आंशिक बदली भइ ७ डिग्री सेल्सियस रहेको छ।
वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार ११ बजे पछि काठमाडौंमा सामान्य बदली भइ हल्का पानी पर्नसक्ने सम्भावना रहेको छ। २/३ बजेपछि दिउँसो १८–२० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तराईमा आज हुस्सु लागेको छैन। नेपालगञ्ज र कपिलबस्तुको बीचमा इन्डियाको सीमावर्ती क्षेत्रमा पातलो हुस्सु रहे पनि तराईका अन्य भू–भागको मौसम खुलेको छ।
प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आज राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने वाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।






