Home / Nepal / ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै

‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै

बैतडी : पछिल्लो समय बैतडीमा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ। यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । उनले भने, “वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म २२ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ ।”

जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालमा हाल दैनिक १०० बिरामी उपचारका लागि आउने गरेकामा ५० जना भाइरल ज्वरोका आउने गरेका जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए।

“अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा स्क्रब टाइफसको परीक्षण गरिरहेको छ”, उनले भने, “केही स्क्रब टाइफसका बिरामीलाई अस्पताल भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ।”

वर्षातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका अस्पतालका प्रमुख डा. जोशीले बताए । उनले भने, “पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ, स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौँ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *