काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज राति सार्वजनिक हुने भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्विटरमार्फत जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९:४५ बजे डिभीको नतिजा सार्वजनिक हुने जनाइएको छ ।
दूतावासको ट्विटमा भनिएको छ, “आज राति ९:४५ बजेबाट तपाईंले डीभी आवेदनको नतिजा हेर्न सक्नुहुन्छ । याद राख्नुहोस्, तपाईंलाई डिभी पर्यो वा आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेज हामी तपाईंलाई पठाउँदैनौं । यस्तो दावी गरिएका र तपाईंलाई डीभी पर्यो भन्ने व्यहोराका कुनै पनि म्यासेज साँचो होइनन् ।”
डीभीको नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ । यदि नम्बर बिर्सेको खण्डमा पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।
गत मे ५ मा हुनुपर्ने डीभीको नतिजा कोरोना कहरका कारण एक महिनापछि अर्थात जुन ६ मा सारिएको थियो ।






