विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोरमा रहेको एक उद्योगमा कार्यरत ३० मजदुरमा एकैपटक कोरोना संक्रमण देखिएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका १ मा सञ्चालित आरती स्ट्रिप्स प्रालिमा कार्यरत मजदुरहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । यो उद्योग भारतीय लगानीको हो । यहाँ अधिकांश कामदार भारतीय नै छन् । बूढीगंगा गाउँपालिका विराटनगरको छिमेकी पालिका हो ।
पहिले दुई मजदुरमा कोरोना देखिएको थियो । पछि उपल्लास्तरका एक कर्मचारी र मजदुरसमेत ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बूढीगंगा गाउँपालिकाका अनुसार उद्योगमा कार्यरत डेढ सयभन्दा धेरैको स्वाब परीक्षण गरिएको थियो । हाल उद्योग सिल गरी मजदुरलाई आइसोलेसनमा राखिएको छ । गाउँपालिकाले उद्योग सिल गर्न निर्देशन दिएको छ ।
बूढीगंगा २ का वडाध्यक्ष युवराज पौडेलले संक्रमण समुदायमा नफैलियोस् भनेर सचेत रहन उद्योगलाई निर्देशन दिइएको बताए । आरतीमा कर्कट पाता र फलामे डन्डी उत्पादन हुन्छ । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले मजदुरमा संक्रमण त्रासले धेरै उद्योगले उत्पादन कटौती गरेको जानकारी दिए ।






