Home / Nepal / विदेशी च्यानललाई कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ लागू हुदै

विदेशी च्यानललाई कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ लागू हुदै

काठमाडौँ । विदेशी टेलिभिजन च्यानल प्रसारकहरूले कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ प्रविधि लागू गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले यस्तो सूचना जारी गरेको हो ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ६ को उपदफा १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको हुनाले सो सूचना जारी गरिएको जानकारी दिनुभयो ।

नेपालमा प्रसारणका लागि डाउनलिङ्कको अनुमति लिने च्यानलको सङ्ख्या १४७ छन् ।

के हो क्लीन फिड ?


विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो । यो अवधारणा अन्तर्गत दर्शकले टेलिभिजन च्यानलका ‘कन्टेन्ट’ बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन । विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेको र दर्शकले पनि विदेशी विज्ञापन हेर्नुपरेको बाध्यतालाई अन्त्य गर्दै स्वदेशी विज्ञापनको बजार विस्तार गर्न नेपालमा पनि यस्तो अवधारणा लागू गर्ने तयारी सरकारले गरेको हो ।

नेपाललाई वाषिर्क दुई अर्ब फाइदा 

अहिले सरकारलाई वाषिर्क ७ लाख तिरेर विदेशी च्यानलहरु विज्ञापनसहित नेपालमा प्रसारण हुन सक्छन् । यही शुल्कबाट विदेशी टेलिभिजन सञ्चालकहरुले नेपालमा अर्बौंको विज्ञापन पनि देखाइरहेका छन् । यसलाई रोक्न र नेपालको विज्ञापनको बजारलाई व्यवस्थित एवं थप विस्तार गर्नका क्लिन फिडको व्यवस्था प्रभावकारी हुने सरकारी अधिकारीहरुको भनाइ छ ।

क्लिन फिड लागू भएको अवस्थामा नेपाललाई आर्थिक रुपमा र मुख्य गरी सांस्कृतिकरुपमा फाइदा हुने नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्र  कुमार रिजाल बताउँछन् ।

उनी भन्छन् ‘क्लिन फिड लागू हुदाँ नेपाललाई वाषिर्क दुई अर्ब जति फाइदा हुन्छ भन्ने हाम्रो अनुमान छ । अध्यक्ष रिजालले क्लिन फिड लागू गर्ने वा नगर्ने भन्ने विषय नेपालको राष्ट्रियता र नेपाली संस्कृतिसँग समेत जोडिएको बताए ।

क्लिन फिड लागू भएपछि विदेशी च्यालन हेर्नेको संख्या पनि घट्ने र नेपालका सञ्चारमाध्यममाथि कन्टेन्ट थप बलियो बनाएर जानुपर्ने चुनौती थपिने अध्यक्ष रिजालले बताएका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *