रुकुम । रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि संसदीय समिति बनानाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले घटनाको छानविनको लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।
उनले सत्तारुढ दलकै स्तानीय तहका प्रतिनिधिहरुबाट घटनाको तोडमोड गर्ने काम भएको भन्दै आपत्ति समेत जनाए। उनले पीडित दोषीलाई कानुनी कारबाहीका लागि छानबिन समिति गठन गर्न माग गर्दे पीडित पक्षलाई राहत र क्षतिपूर्ति दिन समेत माग गरे।
सांसद विश्वकर्माले घटनाका बारेमा गृहमन्त्रीले संसदमा जवाफ दिन समेत माग गरे।
गएको शनिबार राति जाजरकोटका नवराज विक आफ्नी प्रेमिकालाई लिन १९ जना युवालाई साथ रुकुमको चौरजहारी पुगेका थिए । तर गाँउ पुगेलगत्तै उनीहरुलाई केटीका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेपछि नवराजसहित तीनजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन् ।
छानविन समिति संयोजकको जिम्मेवारी गृहका सह–सचिव जितेन्द्र बस्नेतलाई दिने तयारी भएको छ । समितिमा प्रहरी प्रतिनिधी लगायत अन्य सदस्य रहनेछन् ।






