नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ ।
इन्धनको मूल्य घटेसँगै सोमवारदेखि नै लागू हुने गरी कार्गाे तथा चार्टर्ड उडानको भाडादर घटाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार निगमले वाइडबडी विमान (एयरबस ३३०) मा साविकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोबडी (एयरबस ३२०) जहाजमा १५ प्रतिशतले शुल्क घटाएको छ ।नयाँ मूल्य अनुसार अब वाइडबडी जहाजको चार्टर्ड तथा कार्गाे उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३ हजार ४६० कायम गरिएको छ ।
यसअघि भाडादर १५ हजार ५२० डलर रहेको थियो ।आयल निगमले वाइडबडी जहाजको भाडादरमा २ हजार ६० डलर घटाएको हो ।यसैगरी निगमसँग रहेको न्यारोबडी जहाजको भाडादर प्रतिघण्टा ६ हजार ५८० बनाइएको छ । यसअघि जहाजको भाडादर ७ हजार ७१० डलर रहेको थियो । निगमले जहाजको भाडादर १ हजार १३० डलरले घटाएको छ ।
महंगो हवाई इन्धनका कारणले नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक प्रभाव तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा असर परेको भन्दै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हवाई इन्धनको शुल्क घटाउन आग्रह गर्दै आएका थिए ।
नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको छ । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ ।निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।
रासस






