Home / Society / सशस्त्र प्रहरी जवानलाई नहरको पानीमा डुबाएर हत्या गर्ने तीनजना पक्राउ

सशस्त्र प्रहरी जवानलाई नहरको पानीमा डुबाएर हत्या गर्ने तीनजना पक्राउ

जनकपुर । सिरहामा एकजना सशस्त्र प्रहरी जवानलाई नहरको पानीमा डुबाएर हत्या गरेको घटनामा संलग्‍न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 

गत असार १६ गते दिउँसै सिरहाको सिरहा नगरपालिका –१४, खिरौनास्थित नहरको पानीमा महोत्तरी, सोनमा गाउँपालिका –३ घर भई सिरहा नगरपालिका – १७ स्थित सशस्त्र प्रहरी नेपाल बोर्डर आउटपोष्टमा कार्यरत प्रहरी जवान मनोहर यादवलाई लछारपछार गरी डुबाएर मारिएको आरोप छ ।

त्यसबेला नहरमा मृत अवस्थामा फेला परेका प्रहरी जवान यादवको घटनाबारे अनुसन्धान गर्दै जाँदा हत्या गरिएको पुष्टि भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी जवान यादवको हत्यामा संलग्न अभियोगमा प्रहरीले सिरहा नगरपालिका –३, मखनाहा बस्ने २५ वर्षीय जयकेशकुमार यादव, २० वर्षीय दिपेशकुमार यादव र २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरेको हो । 

उनीहरुले प्रहरी जवान यादवलाई चोर चोर भन्दै करिब तीन किलोमिटरसम्म लखेटेर मारेको घटना अनुसन्धानमा सक्रिय प्रहरी टोलीको ठहर छ । 

स्थानीय बिन्दी यादवको छोरीको बिवाहमा उनीहरुबीच विवाद भएको थियो ।

सोही विवादलाई रिसइबी बनाएर उनीहरुले प्रहरी जवानलाई हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले तीन जनालाई पक्राउ गरी घटनाको थप अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरेको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *