Home / Nepal / News / बाढीले विद्युत् आयोजनामा क्षति, पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध

बाढीले विद्युत् आयोजनामा क्षति, पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध

काठमाडौँ । दुई दिनदेखि देशभर भएको वर्षात् र बाढीका कारण विद्युत् आयोजनामा क्षति पुग्दा करिब पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ ।

हालसम्म नेपाल विद्युत् प्राधिकरण मातहतका २४० मेगावाट र निजी क्षेत्रका २५० मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अहिले भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीसमेत प्रभावित भएका छन् ।


सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत् गृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव बढ्दै गएकाले विद्युत् गृह कतिबेला सञ्चालन गर्न सकिन्छ भन्ने निश्चित नभएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो ।


प्राधिकरणको स्वामित्वका ७० मेगावाटको मध्यमस्र्याङ्दी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत् गृह अहिले बन्द भएका छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीको उत्पादन पनि बन्द भएको छ ।


यस्तै इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षति पुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

विभिन्न स्थानमा प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुख ढलेर लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या आइरहेको प्राधिकरणले जनाएको छ ।


स्वदेशी उत्पादन आकस्मिक रूपमा बन्द भएपछि कटैया र ढल्केवर हुँदै विद्युत् आयात गर्न लागिएको जनाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बन्द भएका विद्युत् गृह, प्रसारण तथा वितरण लाइन यथाशीघ्र सञ्चालन गरी विद्युत् आपूर्ति व्यवस्थापन गर्न प्राविधिक टोली खटिइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार केही स्थानमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन भइरहेको छ ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *