काठमाडौं । दैलेखको दुल्लु नगरपालिकाका आत्महत्या गरेका युवकमा कोरोना पोजेटिभ देखिएको छ ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दैलेख गमौडी १० निवासी २१ वर्षीय पुरुष जेठ ११ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।
उनको आरडीटी परीक्षण नेगेटिभ देखिएपछि घर फर्किएका थिए । घर फर्किएको १६ दिनपछि उनी झुन्डिएर आत्महत्या गरेका थिए ।
असार ९ गते उनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । त्यसपछि असार १० गते बिहान शव दैलेख अस्पतालमा ल्याइएको थियो ।
सोही दिनमा उनको पोस्टमार्टम गरिएको र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
उनीसँगै कर्णालीमा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।






