Home / Nepal / News / मन्त्री योगेश भट्टराई सहभागी जुम एपको भर्चुअल मिटिङ चल्दा चल्दै पोर्न भिडियो बजेपछि…

मन्त्री योगेश भट्टराई सहभागी जुम एपको भर्चुअल मिटिङ चल्दा चल्दै पोर्न भिडियो बजेपछि…

काठमाडौँ । नेपाल पर्यटन बोर्डले सोमबार ल्याएको पर्यटन क्षेत्र सञ्चालनसम्बन्धी मापदण्ड ‘कोभिड–१९ अपरेसनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’ सार्वजनिक कार्यक्रमकाका क्रममा अश्लील भिडियो प्ले भएपछि अहिले चौतर्फी आलोचना भएको छ ।

प्रमुख अतिथि थिए पर्यटन मन्त्री योगेश भट्टराई रहेको जुम एपमा भर्चुअल मिटिङ भइरहेको थियो । त्यहाँ सहभागी थिए २ सय ५९ जना ।

मन्त्री भट्टराई बोल्दै थिए । करिब ५ मिनेटपछि एकाएक जूमको स्क्रिनमा अश्लील भिडियो देखियो । यो क्रम करिब १ मिनेट चल्यो ।

जूम बैठकमा मन्त्रीलाई उत्साहका साथ सुनिरहेका देशभरका पर्यटन व्यवसायी, पर्यटन क्षेत्रसँग सम्बन्धित संघ संगठनका पदाधिकारी अश्लील भिडियोका दर्शक बन्न पुगे ।

मन्त्रीबाहेक अरुको माइक्रोफोन म्युट गरिएकाले दर्शकहरुले विरोध गरेको आवाज सुनिएन । तर त्यही जूममा रहेका च्याटमा सहभागीहरुले तत्काल निन्दा गर्दै आपत्ति जनाए । तत्काल बन्द गर्न भने ।

पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दीपक महत, पर्यटन व्यवसायी कर्ण शाक्य, पर्यटन सचिव केदारबहादुर अधिकारीले पछिल्लो परिस्थितिबारे मन्तव्य दिइसकेपछि अन्तिम वक्ता थिए, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ।

त्यो अश्लील भिडियो हरिश नामको सहभागीबाट सेयर भएको थियो । मन्त्रीले बोल्दाबोल्दै त्यस्तो देखिए पनि उनले यस विषयमा केही भनेनन् ।

उनी रोकिए । करिब दुई मिनेटपछि भृकुटीमण्डपबाट सञ्चालन भइरहेको जुम बैठक बन्द गरियो ।

यो कसरी भयो । किन भयो । कसैले भन्न सकेनन् । लगत्तै बोर्डबाट वरिष्ठ निर्देशक थापा बोर्डका तर्फबाट मन्त्रालय पुगिन् । उनले पर्यटन मन्त्री भट्टराई, सचिव र अन्य अधिकारीलाई भेटिन् ।

मन्त्रालयका अनुसार घटनाबारे छानबिन गर्न एउटा समिति गठन गरिएको छ । बोर्डले पनि यो घटनाको छानबिन गर्न साइबर अपराध हेर्ने नेपाल प्रहरीको सेलमा जाहेरी दिने जनाएको छ ।

बोर्डका सीईओ रेग्मीले यो नियोजित भएको बताए । उनले पछिल्लोपटक बोर्डले दर्जनौं बैठक जूमबाट गरेको जनाउँदै सोमबारको बैठकमा सुरुदेखि नै ह्याकरले बीचबीचमा समस्या सिर्जना गरिरहेको बताए ।

घटनाबारे बोर्डले क्षमायाचना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *