काठमाडौं । कोरोना भाइरसको प्रभावले एसियाली अर्थतन्त्र नराम्ररी बिथोलिने भएको छ । विश्वव्यापी महामारी बनिरहेको कोभिड–१९ का कारण शिथिल भएका एसियाका विकासशील देशको अर्थतन्त्रको वृद्धिदर ऋणात्मक हुने भएका हुन् ।
कोभिड–१९ रोकथाम उपाय लकडाउनका कारण आर्थिक गतिविधि प्रभावित हुनु तथा बाह्य माग कमजोर हुनाले विकासशील एसिया मुस्किलले उकालो लाग्ने देखिन्छ ।
पुरै एसियाले कोरोनाको मार खेप्दा चीनमा भने ठूलो असर नपर्ने एसियाली विकास बैंकको अध्ययनले दाबी गरेको छ ।
बैंकले सार्वजनिक गरेको एसियाली विकास पूरक आउटलुकमा चीनबाहेक अन्य देशको अर्थतन्त्रमा कोरोना भाइरसको गहिरो प्रभाव पर्ने देखिन्छ । सन् २०२० मा चीनको अर्थतन्त्र १ दशमलव ८ प्रतिशतले विस्तार हुनेछ । जबकि ३४ एसियालीको आर्थिक वृद्धिदर नकारात्मक हुनेछ ।
२०२० मा दुई टापु देश फिजी र माल्दिभ्सको आर्थिक वृद्धिदर दोहोरो अंकले नकारात्मक हुने एसियाली विकास बैंकको निष्कर्ष छ ।
एसियाली विकास बैंकले यसअघि प्रकाशन गरेको आउटलुकमा पनि दुवै देशको अर्थतन्त्र सामान्य दरले खुम्चिने प्रक्ष्येपण गरिएको थियो ।
कुक्स आइल्यान्ड भानुआटु र पलाउको आर्थिक वृद्धि पनि करिब १० प्रतिशतले नकारात्मक रहने एडीबीको अनुमान छ । यसअघिको अनुमानमा यी देशको आर्थिक वृद्धिदर ऋणत्मक हुने बताइएको थियो ।
अघिल्लो अनुमानभन्दा उल्लेखित देशको आर्थिक वृद्धिदरमा ५ देखि ११ प्रतिशतको प्रभाव पर्ने बताइएको छ । सबै देश पर्यटकीय गन्तव्य हुन् ।
आर्थिक वृद्धिदर नकारात्मक हुनेमा दक्षिण एसियाका ५ देश छन् । बैंकका अनुसार बंगलादेश, नेपाल र भुटानबाहेक सबै दक्षिण एसियाली देशको अर्थतन्त्र खुम्चनेछ ।
त्यसमध्ये बंगलादेशले सर्वाधिक ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ । यो आर्थिक वृद्धिदर एसियाका सबै देशमध्ये उच्च हो ।
एडीबीको आउटलुकमा सन् २०२० मा अफगानिस्तानको आर्थिक वृद्धिदर ४.५ प्रतिशतले, भारतको ४ प्रतिशतले, पाकिस्तानको ०.४ प्रतिशतले र श्रीलंकाको ६.१ प्रतिशतले नकारात्मक हुने उल्लेख छ । भुटान र नेपालको भने क्रमशः २.४ र २.३ प्रतिशतले उकालो लाग्नेछन् ।
एडीबीले यसअघि नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतले सकारात्मक हुने अनुमान गरेको थियो । नेपाल सरकारले पनि आर्थिक वृद्धिदर २.२७ प्रतिशत हासिल हुने अनुमान गरिसकेको छ ।
नेपालले गत वर्ष ७ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो । एडीबीको सुरुवाती अनुमानमा नेपालले यो वर्ष ५.३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने उल्लेख थियो ।
एडीबी पूरक आउटलुकमा पूर्वी एसियाबाहेक सबै क्षेत्रगत आर्थिक वृद्धिदर नकारात्मक रहने उल्लेख छ ।
पूर्वी एसियामा चीन र ताइवानको सकारात्मक आर्थिक वृद्धिले साथ दिएको छ । तर, बाँकी देशहरू हङकङ, मंगोलिया र कोरियाको आर्थिक वृद्धिदर भने नकारात्मक हुनेछ ।
पूरक आउटलुकमा उत्तर कोरिया, जापान, मध्यपूर्वी एसियाबारे उल्लेख गरिएको छैन । जसमा तीन दक्षिण एसियाली देशबाहेक तुर्किमेनिस्तान, उज्वेकिस्तान, चीन, ताइवान, ब्रुनाई, म्यान्मार, भियतनाम, किरिबाटिर टुभालुको अर्थतन्त्र विस्तार हुने उल्लेख छ ।
यसरी विकासशील एसियाको आर्थिक वृद्धिदर २.२ प्रतिशतबाट संशोधन गर्दै ०.१ प्रतिशत कायम गरेको छ । यो आर्थिक वृद्धिदर सन् १९६१ यताकै न्यून हो ।
एडिबीले २०२१ मा यो क्षेत्रको वृद्धिदर ६.२ प्रतिशत हुने अनुमान पनि गरेको छ ।






