कञ्चनुर, ३ चैत । बुवाले दोश्रो विवाह गरेको भन्दा एक युवकले आफ्नै बुवा र सौतेनी आमाको हत्या गरेका छन् ।
कञ्चनपुरको शुक्लाफांटा नगरपालिका ११ कलुवापुरमा दुई साताअघि भएको दम्पती हत्याको घटनामा मृतककै छोराको संलग्नता देखिएको हो ।
पारिवारिक विवाद र अंशकै कारण उक्त हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सौतेनी आमा र बुवाको हत्या आफैंले गरेको अभियुक्तले स्वीकारेको कञ्चनपुर प्रहरीले जनाएको छ । उनका अनुसार बुवाले दोस्रो विवाह गरेदेखि नै छोराहरुसँग विवाद थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मृतक जय बहादुर भण्डारीका छोरा भरतलाई सोमबार पत्रकार सम्मेलन गरी अभियुक्तका रुपमा सार्वजनिक गरेको हो ।
भरतलाई आइतबार डडेलधुराको अमरगढी नगरपालिका–२ जगेनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासिनीले बताए ।
\उनका अनुसार फागुन १४ गते राति भरतले नै ५२ वर्षीय जयबहादुर र उनकी श्रीमती २२ वर्षीया धनादेवीको हत्या गरेका थिए ।





