Home / Nepal / News / सीमा अतिक्रमणको विरोध गर्ने ३३ जना विद्यार्थी राती रिहा

सीमा अतिक्रमणको विरोध गर्ने ३३ जना विद्यार्थी राती रिहा

काठमाडौं । भारतद्वारा गरिएको सीमा अतिक्रमणको विरोधमा उत्रिएका ३३ जना विद्यार्थीलाई प्रहरीले रिहा गरेको छ । शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।  

नेविसंघ, सत्तारुढ नेकपानिकट अखिल, मोहन बैधनिकट अखिलले संयुक्त रुपमा गरिएको प्रदर्शनमा हस्तक्षेत्र गर्दै पक्राउ गरिएको नेविसंघ पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले जानकारी दिइन् । 

महानगरीय प्रहरी परिषरका एसएसपी श्याम ज्ञवालीले ३३ जना पक्राउ गरेको पुष्टि गरेका थिए । भारतले लिपुलेक–कालापानी सडक बनाए पछि त्यसको विरोधमा प्रर्दशन भएको हो । 

नेपाल पुलिस क्लबमा पक्राउ पछि खिचिएको सामुहिक तस्बिर । तस्वीर : एलिजा ढकाल

भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचारले दुई देशबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । 

भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।  

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्सा सार्र्वजनिक गरेपछि  सरकारले केहीअघि आपत्ति जनाएको थियो ।

नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *