लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनल आजदेखि नियमित काममा फर्किएका छन् ।
२७ मार्चमा नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कामबाट अलग भएका प्रधानमन्त्री जोन्सन एक महिनापछि सोमबारदेखि नियमित काममा फर्किएका हुन् ।
जोन्सन ५ अप्रिलमा अस्पताल भर्ना भएका थिए भने ६ अप्रिलमा आईसीयूमा राखिएको थियो । उनी १२ अप्रिलमा अस्पतालबाट डिस्चार्ज भएका थिए ।
कोरोना भाइरसको संक्रमण परीक्षणमा सरकारले गति लिन नसकेको र एनएचएसमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन नसकेको भन्दै आलोचना भइरहेको बेला जोन्सन काममा फर्किएका हुन् ।
त्यसैगरी सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनबाट बाहिर निस्किने विकल्पसहितका रणनीति सार्वजनिक गर्न नसकेकोसमेत सरकारलाई आरोप लगाइएको छ ।
यही आलोचना र रणनीतिकको चापकाबीच कोरोना जितेर बेलायती प्रधानमन्त्री जोन्सन १० डाउनिङस्ट्रिटमा फर्किएका हुन् ।
बेलायतमा हालसम्म २० हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने एक लाख ५२ हजार ८४० जना संक्रमित भएका छन् ।






