एजेन्सी । विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, लियोनल मेसीजस्ता ठूला खेलाडी सोही भूमिमा जन्मिए ।
बार्सिलोनाका कप्तान लियोनल मेसीले क्लब इतिहासमा धेरै उपाधि जिताए ।
तर, देशका लागि केही भने ठूलो उपाधि जिताउन सकेका छैनन् । जतिजति मेसीको उमेर छिपिँदै जान्छ, त्यति नै फुटबलप्रेमीहरूको मनमा एउटा डर उत्पन्न हुन्छ ।
कारण एउटा महान् खेलाडीले देशलाई कुनै पनि उपाधि दिलाउन सकेका छैनन् । दुईपटक कोपा अमेरिकामा अर्जेन्टिनालाई फाइनलमा पुर्याएर पनि उपाधि दिलाउन नसकेका मेसीले सायद अन्तिमपटक कोपा अमेरिका खेल्दै छन् ।
अर्को ठूलो फुटबल प्रतियोगिता विश्वकप फुटबलमा अर्जेन्टिनालाई फाइनलमा पुर्याए पनि उपाधि दिलाउन भने सकेनन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने धेरैजसो खेलाडी युरोपियन क्लबहरूमा राज गरेर बसिरहेका छन् ।
स्पेनिस क्लब बार्सिलोनामा लामो समययता राज गरिरहेका कप्तान मेसी, इटालियन क्लब युभेन्टसमा पाउलो डिबाला, फ्रान्सेली क्लबमा एन्जल डी मारिया, इङ्लिस क्लब म्यान्चेस्टर सिटीमा सर्जियो अग्युरोलगायत खेलाडी छन् ।
जब अर्जेन्टिनाले अन्तर्राष्ट्रिय स्तरमा ठूलो प्रतियोगिता खेल्छ, सबैभन्दा पहिला मेसीको नाम आउँछ । गोल गर्ने खेलाडीको पहिलो रोजाइमा रहेका हुन्छन् उनी । सन् २०१८ मा रुसमा विश्वकप फुटबल सम्पन्न भयो ।
उक्त विश्वकपमा कप्तान मेसीले आफ्नो टोलीलाई अन्तिम १६ सम्मको यात्रा तय गराए । तर, फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएको थियो । उक्त हारपछि मेसीले राष्ट्रिय टोलीबाट केही समय विश्राम लिए ।
मेसी कोपा अमेरिकाका लागि राष्ट्रिय टोलीमा फर्के । पुनरागमनपछि राष्ट्रिय टोलीबाट मेसीले खेलेको पहिलो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो ।
उक्त खेलपछि अर्जेन्टिनाले खेलमा राम्रो लय ल्याएको समर्थकहरूको आशा थियो । उक्त आशा त्यसको एक सातापछि निराशामा बदलियो ।
अर्जेन्टिनाले कोपा अमेरिकाको पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताको आरम्भ गर्यो । पहिलो खेलमा पराजित हुँदा नै समर्थकहरूले कप्तान मेसीको आलोचना गर्न थाले । अर्जेन्टिना कोलम्बियासँग २–० गोलले पराजित भएको थियो ।
पहिलो खेलमा पराजित अर्जेन्टिनाले कोपा अमेरिकाको दोस्रो खेलमा पाराग्वेसँग १–१ गोलको बराबरी खेल्यो । त्यसपछि अर्जेन्टिनालाई तेस्रो खेलमा भने सफलता मिल्यो । तेस्रो खेलमा अर्जेन्टिनाले जित निकाल्यो । जसमा कतार अर्जेन्टिना २–० गोल अन्तरले जित निकाल्यो ।
अर्जेन्टिना क्लाटरफाइनलमा पनि सफल भयो । अर्जेन्टिनाले क्वाटरफाइनलमा भेनेजुयललाई २–० गोल अन्तरले जित्यो । अर्जेन्टिनाको यात्रा सेमिफाइनलमा सीमित भयो । सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग २–० गोल अन्तरले पराजित भयो ।
२०१९ को कोपा अमेरिकामा पनि अर्जेन्टिना मेसीको भरमै देखिन्थ्यो । जसमा मेसीले पेनाल्टीमार्फत जम्मा एक गोल मात्र गरेका थिए । उसो त मेसीका लागि अन्तिम मौका भनेको २०२१ को कोपा अमेरिका र २०२२ को विश्वकप हो ।
यो दुवै प्रतियोगिता मेसीका लागि फुटबल करियरको अन्तिम मौका हुनेछन् । तर, मेसी अफ्नो फुटबल करियर सकिनुभन्दा पहिला देशका लागि ठूलो उपाधि जिताउन चाहन्छन् । जसका लागि मेसी अहिलेदेखि नै तयारी गरिरहेका छन् ।
मेसीका लागि २०२१ मा घरेलु मैदानमा हुने कोपा अमेरिका भने सबैभन्दा ठूलो मौका हो । घरेलु भूमिको फाइदा उठाउँदै मेसी देशका लागि पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जिताउन चाहन्छन् ।






