Home / Nepal / काभ्रेपलाञ्चोकमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

काभ्रेपलाञ्चोकमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई शुक्रबार प्रतिमृतक रु ५० हजारका दरले १८ जनाको परिवारलाई नगद सहयोग प्रदान गरेको छ।

नगरपालिकाभित्रका कोभिड–१९ को सङ्क्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाको परिवारलाई सो रकम वितरण गरेको नगरपालिका स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले बताए। कोभिड–१९ को सङ्क्रमणबाट सङ्क्रमित भई जिल्लाभित्रैका अस्पताल तथा जिल्ला बाहिरका अस्पतालमा उपचारको क्रममा पहिलो लहरमा सङ्क्रमण भएर मृत्यु भएको चार र दोस्रो लहरको सङ्क्रमणमा परी मृत्यु भएका २२ गरी २६ जना नगरभित्रका बासिन्दाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ।

जसमध्ये १८ जनाको परिवारलाई सहयोग रकम वितरण गरेको र वितरण गर्न बाँकीलाई पनि नाता प्रमाणित र वडा कार्यालयको सिफारिससहित आवश्यक कागजात पुर्याएर सम्पर्कमा आउनेलाई छिट्टै रकम वितरण गर्ने जनाइएको छ ।

नगरपालिका प्रमुख टोकबहादुर वाइबाले कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु भएकाको परिवारलाई नगरपालिकाको तर्फबाट सान्त्वनास्वरुप नगद सहयोग प्रदान गरेको बताए।

उनले भने “सङ्क्रमणमा परेकालाई बचाउन हरतरहले उपचारको लागि सहयोग गर्दा पनि बचाउन नसकेपछि मृत्यु भएकाको परिवारमा विचल्लीमा रहेकालाई सान्त्वनास्वरुप सहयोग गरेका हौँ”, नगर प्रमुख वाइबाले भने, “विपद् र समस्यामा नगरबासीको साथमा सधैँभरि नगरपालिका रहेको छ भन्ने उदारहणको लागि पनि यो सहयोग रकम प्रदान गरेका हौँ।”

नगरपालिकाको नवौँ नगरसभाले नै पारित गरेको निर्णयअनुसार शुक्रबार मृतक परिवारलाई रकम सहयोग वितरण गरेको प्रमुख वाइबाले बताए।

त्यस्तै सङ्क्रमण भएर भेन्टिलेटरमा उपचार गराएका विपन्न बिरामीलाई पनि रु २५ हजारका दरले रकम सहयोग गर्ने भएको वाइबाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *