Home / Nepal / News / आईसीसी विश्वकप क्रिकेटः आज नेपालले अमेरिकासँग खेल्दै

आईसीसी विश्वकप क्रिकेटः आज नेपालले अमेरिकासँग खेल्दै

मस्कट (ओमान) : विश्वकप क्रिकेटको खुड्किलाका रूपमा रहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज (शुक्रबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा हुने नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ मा सुरु हुनेछ।

नेपाल र अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग–२ मा चौथो पटक आमनेसामने हुन लागेका हुन् । यसअघि ओमानमा नै भएको पहिलो खेलमा नेपालले अमेरिकालाई २ विकेटले हराएको थियो। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले अमेरिकालाई ३५ रन र आठ विकेटले हराएको थियो।

एकदिवसीय क्रिकेटमा नेपाल र अमेरिका डिभिजन ५ देखिका प्रतिद्वन्द्वी हुन् । अहिलेसम्म नेपाल र अमेरीकाले एकदिवसीयमा ७ पटक खेलेका छन् । त्यसमध्ये चार खेल नेपालले जितेको छ भने अमेरिकाले तीन खेल जितेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा अमेरिका दोस्रो स्थानमा छ भने ओमान शीर्ष स्थानमा छ। अमेरिकाले अहिलेसम्म खेलेका १३ खेलमा ६ मा जित र ७ मा हार ब्यहोरेको छ। ६ खेलबाट ६ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ। नेपालले यसअघि पनि ओमान र अमेरिकाविरुद्ध त्रिदेशीय शृंखला खेलेको हो। ओमान १८ अङ्कका साथ शीर्ष स्थानमा छ।

अमेरिकाविरुद्धको पहिलो खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने अपेक्षामा हुनेछ। नेपालले पहिलो खेलमा स्पिनरलाई मुख्य हतियार बनाएर खेल जितेको थियो।

ओमान भ्रमणमा नेपाली टोलीको मुख्य स्पिनर सन्दीप लामिछाने र सुशन भारी हुन्। कुशल मल्ल पनि छन् । तर, टिममा अहिले सोमपाल कामी, करण केसी, बिक्रम सोब, अविनास बोहोरा तीव्र गतिका बलर छन्।

अमेरिका पछिल्लो त्रिदेशीय शृंखलाकै लागि फेब्रुअरी २०२० मा नेपाल जादाँको टोलीमा केही खेलाडी परिवर्तन भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *