काठमाडौं : तनहुँको व्यास नगरपालिका–५, पतेनीस्थित पक्की पुलनजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको छाला, खप्पर, हड्डी, अंगसहित तीनजना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा व्यास नगरपालिका–६, सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१, ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र व्यास नगरपालिका–१, रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन्।
उनीहरूमध्ये अर्जुनको साथबाट दुईथान बाघको छाला, बा४९प ५९२३ नम्बरको स्कुटर, एकथान मोबाइल र नगद एक हजार रुपैयाँ, सन्जितको साथबाट १२२ वटा बाघका हड्डीहरू, ग१८प ५४११ नम्बरको मोटरसाइकल, एकथान मोबाइल र नगद दुई हजार रुपैयाँ र सन्तोषको साथबाट बा३५प ५४५१ नम्बरको मोटरसाइकल, नगद तीन हजार ५८५ रुपैयाँ, एक थान लाइटर र एकथान मोबाइल प्रहरीले बरामद गरेको छ।






