काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षातका कारण गएको बाढी, पहिरो र डुवानबारे सम्बन्धित क्षेत्रमा जानकारी लिएका छन्।
गृहमन्त्री खाणले सशस्त्र प्रहरी बलका अधिकारी र प्रभावित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग शनिबार बिहान प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखहरूसँग बाढी, पहिरो र डुवानबारे जानकारी लिएका हुन्।
गृहमन्त्री खाणले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी ध्रमेन्द्रकुमार मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी वर्षातपछिको अवस्थाबारे जानकारी लिएका हुन् ।
मन्त्री खाणले अहिलेसम्मको कामको प्रशंशा गर्दै अझै वर्षात जारी रहेकाले पूर्वतयारी पूर्णरुपमा गर्न निर्देशन दिए । “अहिलेसम्म तपाईंहरुले राहत, उद्धार र अस्थायी बसोबासको व्यवस्था गर्न गरेको काम सराहनीय छ,” मन्त्री खाणले भने, “अब पूर्वतयारी पति त्योभन्दा राम्रो गतीशीलताका साथ गर्नुहोला ।”
उनले जीवन रक्षा र विपत्तिलाई सहजतामा रुपान्तरण गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।






