दाङ : रुकुमपश्चिमको आठबिसकोट नगरपालीका वडा नं. ९ बटला निवासी २८ वर्षीया धर्माकुमारी बटालाको यात्राको क्रममा बसमै मृत्यु भएको छ।
बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाका छोरा किरण बटलासहित ना ३ ख ३७८८ नम्बरको नाइट बस रुकुमको राडीबाट बस चढेर पश्चिम जाजरकोट, सुर्खेत, बर्दिया हुँदै कोहलपुर जाँदैगर्दा बटालाको मृत्यु भएको हो।
धर्माकुमारीसँगै एउटै बसमा यात्रारत रुकुमकै २७ वर्षीय अर्जुन केसीका अनुसार बर्दिया जिल्लाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला रोएको आवाज सुनियो । झन्डै शुक्रबार बिहान साढे २ बजेको हुँदो हो । केसी १ नम्बर सिटमा थिए । धर्माकुमारीका आमा छोरा २ नम्बर सिटमा।
“म पछाडि फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल खसेको देखेँ,” केसीले भने, “त्यसपछि म लगाउत अरुले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ चालबास गर्नु भएन ।” धर्माकुमारी बसको सिटमै प्राणत्याग गरिसकेकी थिइन् ।
कोहलपुरतर्फ बस अगाडि बढ्यो। धर्माकुमारीकी गाउँकै अर्की एक महिला पनि बसमा सवार थिइन्। उनैले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन् ।
बच्चा रोइरहेको हुँदा केसी लगायत बसमा यात्रारत अरु यात्रुहरुले पालैपालो समाते। त्यतिबेलै कुनै यात्रुले त्यो तस्बिर मोवाइलमा कैद गरे, जुन आज सामाजिक सञ्जालमा ‘भाइरल’ छ ।
धर्माकुमारीका श्रीमान दलबहादुर बटला बाँकेको नेपालगञ्जमा साउन ४ गतेदेखि बस्दै आएका थिए। उनी त्यहाँ घर निर्माण सम्बन्धि ठेक्कापट्टाको काम गर्छन् । घरमा आमा छोरा मात्रै बस्थे । दलबहादुरका अनुसार धर्माकुमारी मुटु र प्रेसरको बिरामी थिइन् ।
श्रीमान दलबहादुरसँगको सल्लाह अनुसार उनी उपचार गर्न नेपालगञ्ज जाने क्रममा उनको बसमै मृत्यु भएको हो । शनिबार मात्रै धर्माकुमारीको अन्तेष्टि बाँकेमा गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।






