काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउँदा पनि हुने जनाएको छ।
सामान्यतया ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ। छ देखि ११ वर्षका बालबालिकाले भने कोभिड–१९ समुदायमा व्यापक रुपमा फैलिएको छ भने मास्क लगाउनु पर्नेछ।
“बालबालिकाले सुरक्षित रुपमा मास्क प्रयोग गर्न, धुन वा प्रतिस्थापन गर्न सक्छन् भने उनीहरुले मास्क लगाउनु पर्छ। बालबालिका हालसालै उच्च जोखिममा भएकाहरुको सम्पर्कमा पुगेका छन् भने पनि उनीहरुले मास्क लगाउनु पर्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ ।
दश वर्ष वा सोभन्दा माथिका बालबालिकालाई भने वयस्कले जसरी नै मास्क लगाउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयले अपाङ्गता भएका बालबालिकाको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउन भनेको छ।
दौउँडदा, उफ्रँदा वा अरु खेलकुदमा सहभागी हुँदा मास्क नलगाउन पनि मन्त्रालयको अनुरोध छ।
मास्कको उचित प्रयोग र खोप नै कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय भएकाले यसको प्रयोग गर्न र सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न मन्त्रालयले आग्रह गर्दै आएको छ। पछिल्लो समय दैनिक कोरोना संक्रमण दर उच्च रहेको र मृत्यु पनि बढ्दै गएको भन्दै विशेष सावधानी अपनाउन सरकारले आग्रह गर्दै आएको छ ।






