Home / Nepal / News / नेपालमा कोरोना संक्रमण यी चार कारणले बढ्न सक्छ

नेपालमा कोरोना संक्रमण यी चार कारणले बढ्न सक्छ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा केही समयभित्र कोभिड संक्रमणको तथ्यांक उच्च हुनसक्ने जनाएको छ। मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले आयोजना गरेको भर्चुअल प्रेस मिटमा संक्रमण बढ्नसक्ने चारवटा कारण औंल्याइएको छ ।

केन्द्रका निर्देशक डा. राधिका थपलियाका अनुसार अहिले नेपालमा बढ्दो डेल्टा भेरियन्टको संक्रमण, भीडभाड र चहलपहल, जनस्वास्थ्यका मापदण्डमा भइरहेको लापरवाही र कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध नहुनुका कारणले संक्रमण उच्च हुनसक्ने देखिएको छ। मन्त्रालयले अबको पाँच महिनाभित्र एक लाख ९३ हजार ८५६ जना कोभिड संक्रमित थपिने प्रक्षेपण गरेको छ। मन्त्रालयको नीति, योजना तथा अनुगमन शाखाले आगामी पाँच महिनामा थप एक लाख ९३ हजारमा कोरोना संक्रमण देखिने प्रक्षेपण गरेको हो ।

महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत गरेको तथ्यांकमा पाँच महिनामा ३८ हजार ७७१ जनालाई अस्पतालबाट उपचार सेवा आवश्यक पर्नसक्ने उल्लेख छ । त्यस्तै संक्रमित हुनेमध्ये ८० प्रतिशत सामान्य, १५ प्रतिशत जटिल, ५ प्रतिशत गम्भीर हुनसक्ने र ९ हजार ६९३ जनालाई सघन उपचार (आईसीयू) सेवा आवश्यक पर्नसक्ने प्रक्षेपण गरिएको छ ।

प्रस्तुत तथ्यांकमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *