Home / Nepal / News / कोरोनाको जोखिम बढे संगै कडा निषेधाज्ञा लगाउने मोरङ प्रशासनको चेतावनी

कोरोनाको जोखिम बढे संगै कडा निषेधाज्ञा लगाउने मोरङ प्रशासनको चेतावनी

विराटनगर : कोरोना भाइरसको जोखिम कायमै रहे पनि सर्वसाधारणले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न हेलचेक्र्याईं गर्न थालेपछि विराटनगरमा कडाई गर्न शुरु गरिएको छ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा केही दिनयता मास्क नलगाई हिंड्ने, भिड गर्ने र सरकारले तोकेका मापदण्डको बेवास्ता गर्ने क्रम बढेको पाइएको हो।

प्रहरीले विराटनगरमा बिहानैदेखि मास्क लगाए नलगाएको विषयमा अनुगमन गर्न शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले भौतिक दूरी कायम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउन प्रहरी सक्रियता बढाइएको बताए । उनले भने, “मास्क नलगाई बजारमा हिंडडुल गर्ने, काम नपर्दासमेत घरबाट बाहिर निस्कने र भिड गर्ने जस्ता क्रियाकलाप रोक्न पहल थालका छौं ।” प्रहरीले विराटनगरका मुख्य चौक र बजारमा अनुगमनलाई तिव्रता दिएको बताइएको छ ।

फिल्डमा परिचालित भएको प्रहरी टोलीले मास्क नलगाई सवारी चलाउने चालक, यात्री, बटुवा र साइकल तथा मोटरसाकइल चालकलाई अनिवार्य मास्क लगाउन आग्रह गर्न थालेको छ । अटेर गर्नेलाई सवारी साधनसहित आधाघण्टा होल्डमा राख्ने गरिएको छ ।

पछिल्लो समय विराटनगरमा दैनिक संक्रमितको संख्या घटे पनि सक्रिय संक्रमितको संख्या भने बढिरहेको छ । विराटनगरमा सक्रिय संंक्रमितको संख्या २ हजार ६६७ छ । हालसम्म १२ हजार ३१ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या १६० पुगेको छ।

आइतबार मोरङ जिल्लामा ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *