Home / Nepal / News / कोभिड-१९ विरुद्धको खोप लगाउन जाँदा के–के कुरा ध्यान दिनुपर्छ?

कोभिड-१९ विरुद्धको खोप लगाउन जाँदा के–के कुरा ध्यान दिनुपर्छ?

काठमाडौं : कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज आजबाट दिइने भएको छ। आफूलाई पायक पर्ने वडा कार्यालयमा गएर खोप लगाउन सकिनेछ।

सुरुमा ६० देखि ६४ वर्षका देशभरका नागरिकले यो खोप पाउने भनिए पनि अन्तिम समयमा आएर केही फेरबदल गरिएको छ। काठमाडौं उपत्यकाबाहेक देशभरिका अन्य जिल्लामा ६२, ६३ र ६४ वर्षका व्यक्तिलाई मात्रै यो खोप दिइने छ। काठमाडौं, भक्तपुर र ललितपुरमा ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले खोप लगाउन जाँदा के–के कुरा ध्यान दिनुपर्छ भनेर जनचेतनामूलक सूचना जारी गरेको छ। मन्त्रालयले खोप लगाउन जाँदा यसरी ध्यान दिन आग्रह गरेको छ :

– खोप लगाउन जाँदा जिल्ला स्वास्थ्य कार्यालय वा पालिकाले जारी गरेका सूचना हेरेर अथवा सम्पर्क गरेर नजिकको खोप केन्द्रमा जानु पर्छ।

– आफ्नो नाम, उमेर र ठेगाना खुल्ने सरकारी परिचयपत्र वा वडाको सिफारिस लिएर जानुपर्छ।

– नाक, मुख र चिउँडो पूरै छोपिने गरी मास्क लगाउनु पर्छ।

– सम्भव भएसम्म छोटो बाहुला भएको र अलि खुकुलो कपडा लगाउनुपर्छ।

– खोप लगाउन जाँदा साबुनपानीले मिचीमिची हात धुनुपर्छ। सम्भव भएसम्म स्यानिटाइजर साथमै बोक्नुपर्छ।

– खोप लगाउन लाइन बस्दा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम राख्नुपर्छ।

– खोप लगाउने बेलामा पनि मास्क लगाइराख्नु पर्छ।

– खोप लगाएपछि आधा घण्टाजति खोप केन्द्रमै बस्नुपर्छ। सो समयमा पनि दुई मिटरको दूरी कायम गर्नुपर्छ।

– घर फर्किएपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *