काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा २० हजार १०५ वटा नमुनाको परीक्षण गर्दा देशभर आठ हजार ९८० जनामा संक्रमण देखिएको थियो। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दुई हजार ३१८ संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै एक हजार ८११ जना छन्। यस्तै, ललितपुरमा ३२८ र भक्तपुरमा १७९ संक्रमित थपिएका हुन्। पछिल्ला दिनमा उपत्यकामा दैनिक थपिने संक्रमितको संख्यामा कमी देखिएको छ।
देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२९ जनाको मृत्यु पुष्टि भएको छ। यस्तै, पछिल्लो २४ घण्टामा आठ हजार ८४८ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।






