काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का सांसद राजेन्द्र महतोले अहिले सरकारसँग भइरहेको छलफल आफूहरुका माग पूरा गराउनका लागि भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग भने, “सत्तामा जान होइन, माग पूरा गर्न हो। माग पूरा भएपछि सरकारका बारेमा सोचौँला। अहिले सरकारको कुरा छैन।” प्रधानमन्त्री केपी शर्मा ओलीले धोकाधडीबाहेक केही नदिएको गुनासो पनि उनले गरे।
रेशम चौधरी, मधेस–थरुहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागका विषयमा सरकारसँग छलफल भइरहेको उनको भनाइ थियो।
यसअघि पनि ओली नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै त्यति बेला आफ्ना माग पूरा नगरेर झुक्याइएको उनले उल्लेख गरे । पटक–पटक आफूहरु ठगिएको भन्दै उनले अब धोकाधडी नचल्ने पनि बताए।






