वाग्मती : मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले दोस्रो पटक स्पष्टीकरण सोधिएको छ। दुवै चिकित्सकहरु डा बुद्धीराज पाण्डे र डा. साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।
डा. साजित अन्सारी ड्युटीको समयमा पनि व्यक्तिगत क्लिनिकमा काम गरेको भेटिएको यसअघि उनलाई निलम्बन गरिएको भए पनि फेरि पनि गलत काम गरेकाले दोस्रो पटक स्पष्टीकरण सोधिएको हो।
त्यस्तै, डा. बुद्धीराज पाण्डेले अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न पठाउने गरेको पाइएकाले स्पष्टकीरण सोधिएको थियो। यसअघि पाण्डेलाई निलम्बन गरिएको भए पनि फेरि पनि गलत काम गरेकाले दोस्रो पटक स्पष्टीकरण सोधिएको हो।
अस्पतालमा कार्यरत दुवैलाई यसअघि पनि निलम्बन गरेर फुकुवा गरिएको थियो। अन्सारीलाई चार दिन र पाण्डेलाई तीन दिन डा श्रेष्ठले निलम्बन गरिसकेका थिए।
वाग्मती प्रदेश सरकारमातहत हेटौँडा अस्पताल आएपछि अस्पतालमा व्यापक सेवा सुधारसँगै परिवर्तन आएको छ। सरकारी मान्यताअनुसार ५० शय्याको उक्त अस्पतालमा हाल उचित व्यवस्थापनसहित १२० शय्या सञ्चालनमा रहेको छ। अस्पतालमा मकवानपुर जिल्लासहित बारा, पर्सा र चितवन जिल्लावासीले समेत नियमितरूपमा सेवा लिँदै आएका छन्।






