काठमाडौं : हुम्लामा बिहीबारदेखि हिमपात हुँदा त्यहाँको तापक्रम माइनस डिग्रीमा झरेको छ। हवाई सेवामार्फत काठमाडौं, नेपालगञ्ज र सुर्खेत आउने यात्रु हुम्लामै थुनिएका छन्। शुक्रबार हुने भनिएका उडान हिमपातका कारण हुन नसक्दा यात्रु हुम्लामै अलपत्र परेका हुन्।
आजको हवाई उडानमा काठमाडौं उड्न नपाएका दुर्गानाथ दाहाल भन्छन्, ‘‘बिहीबार नागरिकता बनाउने काम भइसकेको थियो। शुक्रबारको टिकटमा काठमाडौं जाने भनेको थिएँ। बिहीबार राति एक्कासी हिमपात भएर जानै नपाइने भयो। हुम्लाका होटलमा बस्दा उत्तिकै महंगो छ। अब हिमपातले कति दिन बस्नुपर्ने हो।”
हुम्ला एयरपोर्ट तारा एयरलाइन्सका टिकट म्यानेजर नुर्बू लामाका अनुसार बिहीबार सबै उडान भएका थिए। एक्कासी हिमपात भएकाले शुक्रबार हुने भनिएका उडान शनिबारका लागि सारिएको हो। जहाज हुम्लामा नरोकिएका कारण नेपालगञ्ज, सुर्खेतबाट हुम्ला उड्ने जहाज यात्रु लिन जान नपाउँदा समस्या भएको छ।






