काठमाडौं : नेपालमा कोरोना भाइरसविरुद्धको खोप देशैभर आज (बुधबार) देखि लगाउन सुरु गरिएको छ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट खोप लगाउने अभियान सुरु भएको छ। कोरोना संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन सुरु गरिएको हो।
१० दिनसम्म सञ्चालन हुने यो अभियानमा करिब चार लाख ५० हजार जनाले खोप लगाउन पाउनेछन्। पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन्।
पहिलो खोप लगाएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारी, डा. अनुप बास्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले खोप लगाएपछि आफूहरुलाई केही पनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गरे।






