Home / Nepal / News / २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

२३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं : वि.सं. १९९० माघ २ गते दिउँसो २ः२४ बजे विनासकारी भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ।

नेपालमा हरेक बर्ष वि.सं. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। यो दिवसको मूल समारोह समितिले आज भक्तपुर, मध्यपुरथिमि नगरपालिका वडा नम्बर–८, बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रमको आयोजना गर्दै छ। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो।

यो दिवस मनाउन थालेपछि वि.सं. २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो। सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो। अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो। आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए। नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए।

यसको पुनर्निर्माणका लागि पाँच वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिन्। राष्ट्रपतिले पुनर्निर्माणको शुभारम्भ गरेको स्थल रानीपोखरी र बालगोपालेश्वरको पुनर्निर्माण यसै वर्ष सम्पन्न भएको छ।

प्रदर्शनी माघ २ गते ३ बजेदेखि ५ बजेसम्म र माघ ३ देखि ५ गतेसम्म बिहान १० देखि १२ बजे, दिउँसो १२ः३० देखि २ः३० एवं दिउँसो ३ देखि ५ बजेसम्म खुला रहनेछ । यस वर्ष कोरोनाभाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको छ। यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको समेत आयोजना गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *