काठमाडौं : रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङ विद्यालयबाट अहपरणपछि हत्या भएको छ। कानमा लगाएको सुन लुट्न ६ वर्षीया बालिकाको अपरहणपछि हत्या भएको हो। वागमती प्रदेशका डीआईजी वसन्त लामाका अनुसार स्थानीय ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबार (२१ मंसिर) मा हराएकी थिइन् ।
अबेर साँझसम्म सुमिना घर नआएपछि आफन्तले २२ गते प्रहरीमा खबर गरेका थिए । आफन्तले दिएको सूचनाका आधारमा प्रहरीले बालिकाको खोजी सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी इन्द्र सुवेदीले भने,“सुरुमा हामीले कुनै सुराक पाउन सकेनौं । केही समयपछि सुमिना अध्ययनरत विद्यालय आसपासमा एक युवती देखिएको खबर हामीले पायौँ । अनुसन्धान गर्दै तीनै युवतीले बालिकाको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको पाइयो ।”
सुमिनाको शव कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओडारमा घाँसले छोपिएको अवस्थामा मंगलबार फेला परेको हो । हत्यामा संलग्न आरोपमा प्रहरीले नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेको छ । डीएसपी सुवेदीका अनुसार सुरुमा सपनाले बालिकालाई काठमाडौं बौद्धमा पुर्याएको बताएकी थिइन् । तर खोज्दै जाँदा केही पर उनको शव भेटियो।
सुरुमा प्रहरीलाई झुक्याएकी सपनाले आफूले सुनका लागि चाउचाउ दिएर बालिकालाई फकाएर लगेको स्वीकार गरेकी छन् । सपनाको भनाइ उद्धृत गर्दै डीएसपी सुवेदीले भने,“मैले फकाएर लगेपछि उनको कानको मुन्द्रा झिकेँ । सुनको मुन्द्रा निकालेपछि सुमिनाले आफ्नो घरमा भनिदिन्छु भनेपछि मैले डोरीले घाँटी कसेर मारेकी हुँ ।”
सपनाले लुटेको सुन सोही क्षेत्रमा ६ हजारमा बेचेको समेत पाइएको छ । घटनास्थलबाट बालिकाको झोला, चप्पल र चाउचाउको प्याकेटसमेत बरामद भएको छ । उनीविरुद्ध अपरहण तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।






