काठमाडौं : आइतबार मुलुकभर जम्मा १२५५ जना कोरोना संक्रमित थपिए । २५ जनाको मृत्यु भयो । कोरोना संक्रमितको संख्या पछिल्ला केही दिनमा निकै घटेको छ । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार मंसिर १४ गतेसम्म संक्रमितको संख्या दुईलाख ३१ हजार ९ सय ७८ छ ।
कात्तिक पहिलोसाता दैनिक तीनहजारको हाराहारीमा रहेको यो संख्या मंसिरको पहिलो सातासम्म आइपुग्दा एकहजार पाँचसयको वरिपरि छ । के वास्तवमै स्रक्रमितको संख्या घटेको हो या सरकारी परीक्षणको दायरा साँघुरो भएको हो भन्नेमा यतिखेर विज्ञहरु मात्र नभइ सर्वसाधारणको समेत चासो बढेको छ ।
उपचार क्षमताभन्दा बढी संक्रमितको संख्या देखिन थालेपछि सरकारले मास परीक्षणलाई बन्द गरेको थियो । तथ्यांकमै हेर्ने हो भने कात्तिकको पहिलो साता दैनिक १६ देखि २० हजारको हाराहारीमा नमूना परीक्षण हुने गरेकोमा मंसिरको पहिलो साता १० हजारभन्दा बढेको देखिँदैन । प्रतिशतका आधारमा सरकारले परीक्षण संख्या नघटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ ।
नागरिकस्तरबाटै सजगता अपनाएर यो कोभिड नियन्त्रणमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अपिल गरिरहेका छन् । पछिल्लो समय सःशुल्क उपचारको निर्णयबाट सरकार पछि हटे पनि संक्रमितहरु भने परीक्षण र उपचार प्रक्रियासम्म पुग्न उति उत्साहित देखिएनन् जसले संक्रमितको पहिचानमा नै समस्या उत्पन्न गरायो ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे गम्भीर प्रकृतिका बिरामीसमेत पछिल्लो तथ्यांक घट्दै गएको दाबी गरे । मास परीक्षण गर्न छोडेपछि सरकारले कन्ट्याक ट्रेसिङलाई प्राथमिकता दिएको थियो । तर यसबीचमा लकडाउन खुकुलो हुनु, अन्तर्राष्ट्रिय उडान सुरु हुनु र भेटघाटका दुई ठूला चाडसमेत परेकाले कन्ट्याक ट्रेसिङ कतिसम्म प्रभावकारी भयो होला, त्यो जो कोहीले सजिलै आकलन गर्न सकिन्छ ।
लकडाउन खुकुलो भएपछि उपत्यकामा कोभिड संक्रमितको संख्या बाहिरी जिल्लाको तुलनामा निकै उच्च देखियो । मंसिर १३ गतेसम्मको तथ्यांकअनुसार जम्मा १२ हजार पाँचसय ४६ संक्रमितमध्ये आठहजार पाँचसय ६५ जना वागमती प्रदेशका छन् । दैनिक पोजेटिभ देखिनेको ७० दशमलव १४ प्रतिशत संक्रमित उपत्यकका तीन जिल्लाका छन् ।
विश्वको इतिहासमा कोरोना महामारी लामो समय अस्तित्वमा रहेको सरुवा रोगमध्ये एक हो । यसअघि स्वाइन फ्लु, सार्सजस्ता सरुवा रोग निश्चित भौगोलिक क्षेत्रमा मात्रै फैलिएको र केही महिनामै निर्मूल भएको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
उनका अनुसार सरुवा रोगको प्रकृति फरक फरक हुन्छ । कोरोनाभाइरस ‘अप एण्ड डाउन’ प्रकृतिको छ ।
यसको असर व्यक्तिको शारिरीक संरचना र मानसिक स्थितिका आधारमा पनि निर्धारण हुन्छ । सामान्यतया चिसोमा बढी सक्रिय हुने भनिए पनि सदाबहार गर्मी हुने कतिपय मुलुकमासमेत यसको असर भयानक छ । यसर्थ नेपालमा मौषमका आधारमा भाइरसको असर घट्ने वा बढ्नेबारे कुनै प्रक्षेपण गर्न नसकिने उनी बताउँछन् ।
कोभिड संक्रमितको संख्या घटेको सरकारले तथ्यांक प्रस्तुत गरिरहँदा डा. पुन भन्छन्, “मृत्युको दरलाई हेर्दा संक्रमण घटेको भनिहाल्ने अवस्था छैन, यद्यपी निश्चित समयपछि असर भने कम हुँदै सरुवा भाइरसको प्रकृति नै हो ।”






